संसार : नवराज कलौनीको कविता

नवराज कलौनी




मिर्मिरेमा ताराहरुलाई 
पहिलो बिदाईका हातहरु 
हल्लाएर

जब
घाम बनेर,
मेरो आखामा पर्छिन्
आमा, 
म दिव्यदृष्टि पाउँछु
सन्जयलै झै।

र 
देख्छु यो सन्सार,
जहाँ,
कुन्ती कर्ण बगाउँछिन्,
दुस्सासन वस्त्रहरण गर्दछ,
युधिष्ठिर अस्वस्थामाको 
मृत्युको साक्षी बन्दछ।

उफ! यो संसार 
देखिसकेपछि, 
लाग्छ;
मलाई कोरिएको,
लक्ष्मणरेखा 
कर्णको कवच रहेछ,
र मैले पाएको दृष्टि 
साच्चै दिव्य रहेछ।

No comments

Powered by Blogger.