अनुप जोशीको कविता : अस्पतालको झ्यालबाट
-अनुप जोशी
अस्पतालको झ्यालबाट
देखिन्छ यौटा गल्ली
एक झुण्ड युवकहरु
एक जोडी युवायुवती
यौवनको रापले टाँसिइरहेका छन्
सपनाको मलामी बोकेर-
हुँइकिरहेछन् ताँतीका ताँती गाडीहरु
कोही तरकारी बेचिरहेछ सडकपेटीमा
म हेरिरहेछु उनीहरुलाई
यता एनेस्थेसियाले बेहोस आमा
खै कहाँ छिन् नर्स ?
खै कहाँ छ पेनकिलरको इन्जेक्सन?
अस्पतालको कोलाहलबीच
अब मैले भयानक अनुसन्धान सुरु गर्नुपर्ने छ
किन आकाशिन्छ रक्तचाप ?
कति एमजीको ट्याब्लेटले निचोर्छ रोगको घांटी?
यी सबै जानेका डाक्टरहरु
यहाँ ईश्वरजस्तै दुर्लभ छन्
अब मैले हजार जुनी तपस्या बस्नु छ
उनीहरुलाई जनरल वार्डमा बोलाउन
अस्पतालको झ्यालबाट
देखिन्छ यौटा गल्ली
केही दिन अघिसम्म
सायद त्यतिबेला एकजोर आँशुमा डुबेका आँखाहरु
र त्रासले भूट्भुट्टीरहेको मुटु
यहि झ्यालबाट तल गल्लीतर्फ हेरिरहँदो हो
अनि सोच्दो हो-
यो सहर मरिसकेको छ
अस्पतालको झ्यालबाट
देखिन्छ यौटा क्षितिजप...र यौटा भीमकाय पहाडले निल्नै लागेको छ घाम
म अस्ताउन दिन्न तिमीलाई
म अस्ताउन दिन्न तिमीलाई !
Leave a Comment