भरत पोखरेल 'अन्जान' को कविता : जुन
-भरत पोखरेल 'अन्जान'

जब साँझ पर्छ
म तिम्रै प्रतिक्षा गरेर बसिरहेको हुन्छु ।
अन्य कुरा यथावत राखेर
म तिम्रै पर्खाइमा हुन्छु I
घडिको सुई चलीरहेको हुन्छ
पिरैपिरले भित्र-भित्रै मन जलिरहेको हुन्छ ।
तर पनि म
तिम्रै प्रतीक्षामा हुन्छु ।
म थाक्दिन,
म भोकाउन्न,
म सुन्दिन,
म अरु कुराले रम्दिन ,
मलाई चाहिन्छ त केवल तिम्रै साथ
केवल तिम्रै सामिप्यता ।
मेरो अगाडि हजार वाटका
सय वटा बत्ती नै किन नबालिऊन्......
तर
तर
फिक्का लाग्छ त्यो उज्यालो
फिक्का हुन्छ मेरो मन ॥
चाहन्छ त यो मनले केवल तिम्रो साथ,
जुनकिरी जिस्काउन आउँछे मलाई
जुनले पठाएको भन्दै,
तर म मान्दिन,
विचरी मन खिन्न पार्दै फर्किन्छे जुनकीरी
मलाई चाहिन्छ त केबल जुन,
म तिथी-मिती नहेरी तिम्रो प्रतीक्षामा हुन्छु
चाहे त्यो औंशी रात नै किन नहोस्
तर गरिरहन्छु तिम्रै प्रतीक्षा,
तिमी हराउँदा सोच्छु मैले..
मजस्तै अरुको मन बुझाउन गएको छौ भनी
आनन्द लाग्छ तिम्रो प्रतिक्षा गर्दा,
समय गएको पत्तै पाउँदिन
उज्यालो भएको पत्तै पाउँदिन
रात सकिएको पत्तै पाउँदिन ।
मैले एकदिन
पैसो जोर-जम्मा पार्नेछु
अनि किन्नेछु तिमीलाई
र
बनाउने छु आफ्नै अनि हुनेछौ तिमी
केवल मेरी मात्र मेरी ॥
Leave a Comment