चरीको हत्या (कथा)

– बिराँची पौड्याल














रुखको टुप्पामा हासिरहेको फलले जीवन सङ्घर्ष हो भन्ने दर्शन प्रस्ट गर्छ । अबिरल बग्ने खोलाले बोध गराउँछ कि जीवन अनन्त यात्रा हो । प्रकृतिले उदारतासाथ हृदय खोलेर जीवन दर्शनको  पाठ सिकाईरहेको हुन्छ । हामी मान्छे नै असफल हुन्छौँ प्रकृतिको भाषा बुझ्न ।

सुनगाभासँग नजिकिनु छ भने धैर्यता र हिम्मतलाई सँगालेर आगाडि बढ्नुपर्छ । एकतर्फी प्रेम र प्राणघाती सुनगाभाको फुलमा म बिल्कुलै कुनै भिन्नता पाउँदिन । हामीले देखेका छौँ सुनगाभाले आफुसँग प्रेम जनाउन आउने भमरालाई कसरी हात खोलेर स्वागत गर्छे, कस्तो कलात्मक ढङ्गले आफ्ना कोमलतामा लटपट पारेर फकाउँछे ? बिचरा भमरालाई के था’, त्यो कोमलताभित्र लुकेको कठोर यथार्थ; जब सुनगाभाको कोखभित्र निसास्सिएर सास घाटीमा अड्केको हुन्छ, तब भमराको मनमा एउटा प्रश्न उठ्छ, ‘यो कस्तो प्रेमको आश देखाई; सुनगाभाले मलाई ?’  यसमा सुनगाभाको पनि के गल्ती ? यसले पनि आफ्नो मर्यादा बिपरित जान सक्दिन, प्राकृतिसँग विद्रोह गरेर भमरालाई जिउँदै छोड्न सक्दिन । पुतली आएर होमिन्छ भनेर आगो आफ्नो बल्ने धर्मबाट कहाँ बिमुख हुन्छ र ? कोही जानाजान आगोमा हाम फालेर मर्छ भने त्यस्तालाई बिचरा, कठैबरा हैन मूर्ख भनिन्छ, वुद्धिहीन मूर्ख ।  सुनगाभाले कुनै भमरालाई प्रेम गर्दिन, न त घृणा नै गर्छे । यसले त बस आफ्नो अस्तित्वको सार्थकता देखाउन मारिदिन्छे आफ्ना वरिपरी आउने केही मूर्ख भमराहरुलाई, या भनौँ यसको अस्तित्वको सार्थकता कायम गरिदिन आएका मर्छन् ती केही भमराहरु ।

यौन वा सहवासलाई प्रेमको संज्ञा दिने भलाद्मीहरु उठेका पुष्ट छाती र रसिला ओठको कल्पनामै प्रेम आभिशेक गर्छन् । जिन्दगी बाँच्ने हिम्मत नभएका केही मनहरु पागलपनलाई प्रेम मानेर आफ्नै मूर्खताको दाहमा जवानी डुबाउँछन् । केही यस्ता पनि हुन्छन् जसले प्रेमको परिभाषालाई नै चुनौती दिएर आफुले प्रेम गरेको दाबी गर्छन् । अनि प्राप्तिलाई प्रेम भन्ठान्छन् । 

ओस्कार वाएल्डको प्रख्यात भनाइ छ, ‘इच म्यान किल्स् अ थिङ हि लभ’ सुन्दा अचम्म लाग्थ्यो, के भन्न खोजेको होला ? आफुले माया गर्ने चिजलाई पनि कसैले मार्छ र ? आज यही कठोर यथार्थामा आफै पछारिएपछि आत्माबोध हुन्छ । प्रेमको पराकाष्ठा त्याग रहेछ । मायाको हत्या रहेछ ।

ऊ चिरबिर चिरबिर गर्दै कराउँदै थिई । भन्दै थिई “मलाई नमार” कसरी नमारौँ ? मलाई उसको यति बिघ्न माया लाग्छ । सायद यदि यौनतृष्णाले बौलाएको पागल प्रेमी भएको भए सपनामै उसको लोभ लाग्दो शरीरलाई घटघट पिइदिन्थेँ । तर प्रेमको तृष्णा सपनामा मेटिदैन रहेछ । उसको चिरबिरले ममा कुनै असर परेन । मायाले भरिएको मेरो हृदयमा देखावटी दया पलाएन । कमजोर करुणाले आँखा रसाएन । मेरा हातका पन्जा उसको मसिनो कम्मर समाउन पुग्यो । म उसको पखेटा लुछ्न लागेँ, उसको गालाबाट दबेको स्वरमा आर्तनादको चित्कार बहिरिदै थियो— ‘चि... चि... चिर ... च’ । उसको तडपाइको आवाज सुन्न नसकेर म उसको घाँटी थिच्न लागेँ । चिरबिरको आवाज त रोकियो तर उ निसास्सिए जस्तै ‘किक क्क की क्क्क’ गर्न लागी । रगताम्मे शरीरका सबै पखेटा लुछिएर निराधार जमिनमा छट्पटाउँदै लडिरहेकी प्रेमकी चरी मसँग दयाको भिख माग्दै थिई । सुनगाभाको फुललाई म वेबस भमराले कसरी माया गर्न सक्छु । उसलाई माया गरे मैले मर्नु पर्छ । उसका भयभित आँखाहरू, भोकाएको बच्चाले खानेकुराको आसमा आमालाई हेरेझैँ मतर्फ गाडिएका थिए  । त्यो आसलाग्दो नजरले मलाई पोल्यो । तापक्रम सहन नसकी अनायसै मेरा हातहरू उसको आँखा कोट्याउन लागे । सायद फुटेछन् क्यार । अघि उसका आँखाभरि छचल्कीरहेको आँसु रातो रगतसँगै बगी गयो । साना मसिना खुट्टा फिट फिट गरी उत्तानु परेर पल्टिरहेकी थिई ऊ । मैले न्वारनदेखिको बल लगाएर उसका खुट्टा भाचिदिएँ । अब ऊ छट्पटाएकी छैन, छट्पटाएकी भए पनि पीडा आभिव्यक्त गर्न उसको शरीर कुनै अङ्ग नै बाँकी छैन । सबै अङ्गहरू लुछिएर, किचिएर, चुडिएर छरपस्ट छन् । मेरा भावना जस्तै यत्रतत्र असरल्लै छरिएका छन् । 

एकछिनमा मेरो आँखा उसको छातीमा गएर टक्क अडियो । छातीमा केही हलचल बाँकी थियो । मोबाइलको भाइब्रेशन आएजस्तै छाती कामिरहेको रहेछ । त्यो बेअंग शरीरलाई हत्केलामा उठाएँ । तातो थियो ।  कति सङ्घर्ष गरौँ म यसलाई मार्न । अब त हिम्मत हार्न थालिसकेको थिएँ । फेरि कताबाट साहस पसेछ मनमा, कामिरहेको त्यो शरीरलाई अचानोमा राखेर टुक्राउन लागेँ । दाउराका चोइटा उछिटिएझैँ उसका शरीरका टुक्रा यत्रतत्र छरिए । मन अझै सन्तुष्ट भएको थिएन । शंका थियो । हिजो अस्तिको  जस्तै यो चरी फेरी जोडिएर उड्छे कि ? सधैजसो म कहिले उसका साना आँखामा रगत नजमुन्जेल घाँटी थिचेर त कहिले खुट्टामुनि कचक्क कुल्चेर, त कहिले उसको कोमल शरीरका अङ्गहङ चुडेर उसलाई मारेको हुन्छु । रातमा गरेको यो धृष्टताको ‘ह्यंगओवर’ राम्रोसँग उत्रिन नपाउदै बिहानै ऊ फेरि मेरो कानमा चिरबिराउन आइपुग्छे । आज पनि यस्तै हुने हो कि भन्ने अनिश्चिन्तताको कालो बादलले मन छोप्यो । के गर्ने, कसो गर्ने, मेसो नपाएर म ती सबै टुक्राहरू बटुल्न लागेछु । मुठीभरि अटाइ मेरी प्रेमकी चरी । सधैभन्दा पृथक आज हत्याको अर्को अध्याय पनि सिद्धि गर्ने  ध्ययले उसको टुक्रेको देह आगोमा होमिदिएँ । अग्निको स्पर्स पाउने बित्तिकै लुछिएका पखेटाका टुक्रा बिस्तार खुम्चिन लागे । प्रज्वल्लित आगोमा देह पग्लिएर क्रमशः खरानीमा परिणत भयो । 

अब उ मेरो कानमा चिरबिर चिरबिर कराउने छैन । समय समयमा आउने आँधिले उसको गुड भत्काउला भन्ने डर अब मलाई हुँदैन । ऊ आहारा नपाएर भोकै बसेकी होली भन्ने चिन्ता अब रहदैन । कसैको नमिठो बचनले उसको चित्त दुख्ला भनेर अब मेरो मन डराउँदैन । चट्याङ परेको रात ऊ डरले ननिदाई बसेकी होली भन्ने तर्कनाले अब मेरो निद्रा बिथोलिदैन । उसको सोचको समाप्ती नै मेरो नयाँ सुरुवात हुनेछ ।  

यस्तै तर्कना मनमा खेलाउँदै बसेको थिएँ । अचानक पूर्व आकाशमा सुर्य उदायो । सूर्यबाट खसेको आभाको एक धर्सो त्यो खरानीको थुप्रोमा पर्ने बित्तिकै “फोनिक्स चरा”  जस्तै ऊ पुनः खरानीबाट उत्पन्न भई । हरेक रात म यसैगरी आफुभित्रको प्रेमकी चरीलाई मार्छु अनि हरेक दिन एउटा नयाँ चमत्कारले उसलाई जीवित बनाउँछ ।  पुनः उही पखेटा फिँजाएर ऊ मेरो मनभरी उड्न थाल्छे । फेरि कुनै दिन आँधि आउँछ । चट्याङ पर्छ । कसैले उसको मनमा बोलीको प्रहर गर्छ । यो सब सुनेर फेरि मेरो अन्तर मन बिचलित हुन्छ । फेरि उसको पाइला आगाडि मलाई मेरो जिन्दगी ओछ्याइदिन कर लाग्छ । उसको आँसुमा आफ्नो खुसी घोलिदिन मन लाग्छ । जब मनमा उठ्छ एउटा प्रश्न फेरि डर लाग्छ, ‘जिन्दगीको भीरमा उसको पाइला लडखाडायो भने कसले थाम्छ उसको हात ?’ फेरी मभित्र त्यो प्राणघाती सुनगाभाको लागि प्रेम जाग्छ । ऊ मलाई हात दिन तयार छैन । उसलाई इच्छा लाग्दैन रे ! कसको के लाग्छ  । प्रेमको बाटोमा तगारो बन्न आउने कस्तो इच्छा हो यो ? यदि उसलाई प्रेमको हात समात्ने इच्छा त छैन भने, मलाई झन् सुनगाभाको कोखमा निसास्सिएर बस्ने इच्छा कसरी हुन सक्छ ? के मैले त्यो सुनगाभाबाट   उन्मुक्ति रोज्नु गलत थियो ? 

ऊ पुनः नाच्दै नाच्दै मेरो मनभरी फनफन घुम्दै छे्र । मैले उसलाई पहिल्यै भनेको थिएँ– “नबन तिमी मेरी मनकी चरी, यदि मेरो प्रेमले पराकाष्ठाको चरम सीमा पनि नाघ्यो भने मैले तिम्रो सोचको चरीलाई मनभित्रै मार्नु पर्छ ।” अहँ उसले मानिन । उसले ठानी, स्वाभिमान जलाएर यौनको आगो तापी कमजोर भएका अरू मनमा सुन्दरताको  बास्ना छर्दै स्वतन्त्र उडेजस्तै मेरो मनमा पनि उड्न सकिन्छ । ऊ कति गलत थिई, प्रेममा मातृत्वको आभास खोज्ने मेरो मनमा उसको इस्त्रीत्वले खिया पारेको थिएन । त्यसैले होला सायद मेरो पुरुषार्थको धारमा त्यो इस्त्रीभित्रको सुनगाभालाई छेडेर बाहिर निस्किने सामथ्र्य रहेछ  ।

त्यो ना‘दान चरी जान्दिन । म उसका लागि मेरो गुलियो जिन्दगी अमिल्याइरहेको हुन्छु । उसको सपनादेखि मेरो निद्रा तर्सिएर भाग्छ । हरेक पटक उसको याद मलाई झस्काउन एउटा अनिश्चिन्तताको तीर हान्छ । ‘कतै उसलाई केही भयो कि ?’  ऊ अझै मेरो मनमा नाच्दै थिई, उसलाई मार्ने मेरो हरेक दिनको असफल प्रयासमाथि खित्का छोडेर हाँस्दै थिई ्र “हे सुनगाभा, तँ किन बुभ्mदिनस् त्यो सूर्यबाट खसेको घामको धर्सो मेरै इच्छाशक्तिको उपज हो । मेरो मनभित्रको तेरो अस्तित्वलाई आहारा खुवाएर पाल्ने म नै हुँ ।’ मैले यसरी भनेर पनि उसले बुझ्न खोजिन । हाँसी मात्र रही । मेरो कुरामा सधैँ यसरी नै हाँस्छे ऊ । मैले गरेको मायालाई मेरो कमजोरी ठानेर बेहोसीमा लठ्ठिएको सुनगाझैँ तर्कदै उडिहेकी ऊ अपरिचित थिई मेरो आगामी उद्देश्यसँग ।

पुसको चिसो साँझ ओइलाएर गोधुलीको पछाडि लुक्ने तरखरमा थियो । प्रकृतिको रहर लाग्दो जवानीमा आफ्ना काला नजरले डाम्न उत्तेजित रात साँझ डुब्ने पर्खाईमा ब्याकुल देखिन्थ्यो । एकजोडी उम्लिएका मनहरू काँल्लामुनि आफ्नो बैंस सेलाउनमै मग्न थिए । मधुर उज्यालोमा मत्तिएको आकाश आफ्नो सर्वाङ्ग नाङ्गो शरीर धर्तीलाई प्रदर्शन गरिरहेथ्यो । जुनको उज्जालोमा समाजलाई रतन्धो लागेको हुन्छ । नैतिकता धमिलिन्छ, अनि अँधेरोमा समयको आँखा छलेर धर्ती, आकाश, मानवता, सबै रसलिला मनाउँछन्  । आआफ्ना काल उधेश्यहरू पूरा गर्छन् । म पनि यस्तै एउटा उद्देश्यलाई आन्जम दिन तमतयार छु । बिना कुनै आवाज, एकान्तमा रीङ्गीरहेको सर्पलाई माथिबाट आएर टप्प टिपी लैजाने चिलजस्तै सतर्क भएर । मैले अँधेरोको फाइदा उठाउदै मनको झ्याल सुटुक्क खोलिदिए । बेहोसीमा लठ्ठीएर निर्भिकतासाथ उडिरहेको ऊ कति बेला मेरो मनबाट बाहिरिई उसले थाहै पाइने । मैले साहस देखाईदिए । म भमरा सुनगाभालाई छेडेर बाहिर निस्कीएँ ।

प्रेम कुनै चिज वा व्यक्ति हैन, यो त एउटा सोच हो । मनभित्रैदेखि आउने भेल हो । मस्तिस्कमा अनेकौँ सोच घुमेजस्तै यो सोच पनि कसैको प्रतिविम्ब बोकेकी प्रेमचरी बनेर मनै मन घुम्छे । आसको चाहारा खाएर बाँचेकी हुन्छे । जसै मनमा आस सकिन्छ ऊ पखेटा नाप लाउँदै गुडबाट खसेको भंगेराको बच्चासरि भोकभोकै तड्पिएर मर्छे । मारेको चरीलाई आफ्नो इच्छाशक्तिको घामले फेरि उठाउन सक्छ तर आफै मरेकी चरी सदाका लागि निदाउँछे । म धाराबाहिक हत्याकाण्ड गर्न पछि नहटे तापनि प्रेमको अस्तित्व नै सकिने गरी यसको चिता जलेको हेर्न सक्दिनँ । आजबाट मसँग यो प्रेमचरीलाई खुवाउने आसका दानाहरू सकिए । यसैले मनबाट उसलाई निकाल्न बाध्य भएँ । 

हे चरी, म तँलाई भोकभोकै मार्न सक्दिनँ । तँ आउलिस् भन्ने आस गर्दिनँ, तेरो जिन्दगीको उपहास पनि गर्दिनँ, प्रेमको मोल म कदापी माग्ने छैन । जा चरी उडेर, म प्रेमले तँलाई क्षमा गर्छु ।

No comments

Powered by Blogger.