त्रिविमा कृष्ण धरावासीसँग लीलालेखन सम्बन्धि अन्तरक्रिया सम्पन्न

काठमाडौँ , जेष्ठ १० -



मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयलको केन्द्रीय अंग्रेजी विभागमा “कृष्ण धरावासी र लीलालेखन:एक अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ ।
क्रियटिभ लिट्रेररी फोरमले आयोजना गरेको उक्त कार्यक्रम अंग्रेजी विभागका प्रमुख प्राडा अम्मराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नपाली विभागका प्राध्यापक भरत भट्टराई र कृष्ण भण्डारी, भाषा विज्ञान विभागका प्राध्यापक कर्णाकार खतिवडा तथा अंग्रेजी विभागका प्राध्यापकहरु रेवती न्यौपाने, अनिरुद्र थापा, तारालाल श्रेष्ठ, ध्रुव कार्की, कोमल फुयाल, महेश पौड्याल, खेमराज खनाललगायतको उपस्थिति थियो । कार्यक्रम फोरमका बुद्धिराज बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्राध्यापक तथा समालोचक महेश पौड्यालले लीलालेखन मौलिक नेपाली सिध्दान्त भएको र यसमा कृष्ण धरावासीको लगाव प्रसंसनिय रहेको बताए । उनले धरावासीको राधा उपन्यास आफूले अंग्रेजीमा अनुवाद गरिरहेको समेत खुलासा गरे । कार्यक्रममा प्रमुख अतिथि अम्मराज जोशीले पनि मन्तव्य राख्दै आफू धरावासीबाट लीलालेखनसम्बन्धि धारणा सुन्न उत्सुक रहेको बताए ।

अन्तरक्रियामा धरावासीले झर्रोवाद, आयामेली लेखन र लीलालेखनको क्रमिकरुपमा चर्चा गरे । वैरागी काइला, इन्द्रबहादुर राई र इश्वरवल्लभले ५ दशकभन्दा पनि अगाडि दार्जलिङबाट सुरु गरेको तेस्रो आयाम शक्तिशाली भएको हुनाले अहिले पनि त्यसको बहस हुनेगरेको बताए । उनले भने, ‘तेस्रो आयाममा सम्पूर्णता लेख्नुपर्छ, चित्रात्मक लेखन हुनुपर्छ भन्ने मान्यता थियो तर इन्द्रबहादुर राईले पछि आएर सम्पूर्णता लेखिन सकिँदो रहेनछ भन्ने बोध गर्नुभयो अनि लीलालेखनको सुरुवात भयो ।’

साथै धरावासीले नेपाली वांगमय र पूर्वीय दर्शनलाई प्रवर्धन गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘आधुनिक हुने नामना विश्वविद्यालयमा पश्चिमी साहित्यका सिद्धान्त मात्र पढाइन्छ । हाम्रो पूर्वीय दर्शन पनि थियो होला । नयाँ बनाउन पनि मिल्थ्यो होला । तर हाम्रो मानसपटलमामा बीजारोपण गरियो कि हाम्रो बोल्दा पश्चगामी भइन्छ ।’ लीलालेखन तथा पूर्वीय दर्शनलाई परम्परागत ठानेर बहिष्कारको गर्नु मुर्खता भएको उनले आशय व्यक्त गरे ।

कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी तथा साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो । त्रिविमा नेपाली साहित्यलाई प्रबर्धन गर्ने हेतुले लामो समयदेखि साहित्यिक कार्यक्रमहरु गर्दै आएको क्रियटिभ लिट्रेररी फोरमका संयोजक अनुप जोशीले खरिबोटलाई बताए ।


(स्रोत : खरीबोट डटकम)

No comments

Powered by Blogger.