दिग्गज भारतीय बालसाहित्यकार मनोरमा जफा बुधबार विश्वविद्यालयमा !
चिल्ड्रेनस् लिट्रेचर फाउन्डेसन नेपाल (सीएलएफएन) को आयोजना र कृयटिभ लिट्रेरर्री फोरम(सीएलएफ)को संयोजनमा यहि फाल्गुन २३ गते बुधबार दिउँसो २ बजे त्रिवि, केन्द्रीय अंग्रेजी विभागमा दिग्गज भारतीय बालसाहित्यकार मनोरमा जफाको विशेष प्रवचन तथा उहाँसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न हुने भएको छ | वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्तामा सम्पन्न हुने उक्त कार्यक्रम त्रिवि, घडी भवनको एमफिल हलमा आयोजना हुने छ | प्रवेश निशुल्क रहेको उक्त कार्यक्रममा साहित्यमा रुची राख्ने सम्पूर्ण
महानुभावहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ |
को हुन् मनोरमा जफा ?
-कार्तिकेय
मनोरमा जफा भारतीय बालसाहित्यकार हुनुहुन्छ । उहाँले १०० भन्दा बढी पुस्तक र ६०० अन्य प्रकाशनहरू जस्तै कथा, लेख र शोधपत्रहरू लेख्नुभएको छ । उहाँले साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि भारत सरकारले उहाँलाई सन् २०१४ मा पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो ।
मनोरमा जफा सन् १९३२ मा जन्मनुभएको हो । उहाँले इलाहवाद विश्वविद्यालयबाट भूगोलशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । वीरेन्दर सिंह जफाका साथमा विवाह बन्धनमा बाँधिएपछि उहाँले लेखन यात्रा सुरु गर्नुभएको हो । सन् १९६० को अन्त्यतिर श्रीमान् पटनामा खटाइएपछि उहाँले सुरुवातमा स्थानिय पत्रपत्रिकामा स्तम्भ लेखी लेखन यात्रा शुरु गर्नुभयो, जुन चाँडै नै कथा लेखनमा परिणत भयो ।
जब उहाँको श्रीमान् युनाइटेड नेशनमा जागिरको सिलसिलामा अमेरिका जानुभयो । उहाँ पनि श्रीमान्सँगै अमेरिका पुग्नुभयो । त्यहाँ उहाँले म्यासेचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा कथा लेखनबारे अध्ययन गर्नुभयो । यसले उहाँलाई व्यावसायिक लेखक बन्न मद्दत ग¥यो । जसले गर्दा १०० भन्दा बढी पुस्तकहरू तथा सयौँ कथाहरू लेख्न सफल हुनुभयो ।
मनोरमाका दुई सन्तान हुनुहुन्छ, जेठो छोरा र कान्छी छोरी । उहाँकी छोरी नवीना जफालाई स्थानियहरू कथक नृत्याङ्गनाका रुपमा चिन्छन् ।
मनोरमा जफा सिर्जनशील लेखक हुनुहुन्छ । उहाँ हिन्दी र अंग्रेजी दुवै भाषामा लेख्नुहुन्छ । उहाँका कथाहरू जापानी, डच, इटालियन र स्पेनिस आदि धेरै भाषामा अनुवादित भएका छन् । उहाँको पहिलो कथा ‘पुलमाथिको गधा’ बाट नै उहाँ सरल भाषामा लेख्नुहुन्थ्यो । जुन धेरैजसो अक्षर र चित्र शैलीमा हुन्थे । जफा ठूलाका लागि पनि लेख्नुहुन्छ, जस्तो उहाँको ‘देविका’ जुन राजनीतितर्फ बढी केन्द्रित कृति हो ।
उहाँले लेखेका अन्य पुस्तकहरूको तुलनामा उहाँको बालसाहित्य लेखनको योगदान कदरयोग्य रहेको छ । उहाँले निश्चित वर्गमा लक्षित गरेर पनि कृतिहरू रचना गर्नुभएको छ । ‘गब्बर र बब्बर’ तथा ‘म सोना हुँ’ उहाँको यस्तै किसिमका कृति हुन् । यी कृति अपाङ्ग बालबालिकालाई प्रेरणा दिन लेखिएका हुन् । उहाँले डराउने, तर्सिने बालबालिकाका लागि विशेष कार्यक्रम “किताबी उपचार” चलाउनुभएको छ । उहाँले अफगानिस्तान जस्तो द्वन्द्वपीडित देशका बालबालिका तथा भारतमै सुनामीबाट पीडित बालबालिकाहरूलाई किताबहरू वितरण गर्नुभएको छ । उहाँले २६÷११ को मुम्बई हमलापछि एउटा बच्चा मन बहलाउन बल समात्दै रोइरहेको देखेर यस्तो सोच पलाएको हो भन्नुभएको छ ।
वरिष्ठ लेखक अनुसन्धाता जफाले बालसाहित्य र बालसाहित्य लेखनका पुस्तकमाथि धेरै समीक्षा, टिप्पणी र शोध पत्रहरू तयार गर्नुभएको छ । उहाँले “बालबालिकाका लागि असल किताब” भन्ने अभियानको सुरुवात गर्नुभएको छ । उहाँले सिङ्गापुर, थाइल्यान्ड, बङ्गलादेश, श्रीलंका र नेपालमा नयाँ लेखकहरूलाई बालसाहित्य लेखनमा अगाडि बढाउन निरन्तर कार्यशालाहरू सञ्चालन गर्दै आइरहनुभएको छ । जसले गर्दा हाल बालसाहित्यमा निकै ठूलो फड्को मार्न सकिएको उहाँको भनाइ छ । गृह–पुस्तकालय अभियान थालनीको श्रेय पनि उहाँलाई जान्छ । यस वर्ष मार्च ३ देखि ८ सम्म (फागुन १९ देखि २४ सम्म) उहाँको नेपाल भ्रमणको कार्यक्रम रहेको छ । आदरणीय लेखक विनय कसजू अध्यक्ष रहनुभएको संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रको निमन्त्रणामा उहाँ नेपालमा बालसाहित्य लेखन तालिमका लागि आउन लाग्नुभएको हो । उक्त अवसरमा बालसाहित्य प्रतिष्ठान नेपाल र क्रियटिभ लिटरेरी फोरम, अंग्रेजी विभागका विद्यार्थीहरुको संगठनको संयुक्त आयोजनामा हुने कार्यक्रमअ्नतर्गत् त्रिविवि अंग्रेजी विभाग कीर्तिपुरमा फागुन २३ गते २ बजे उहाँले बालसाहित्य विषयमा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ । साथै सोही दिन पुरस्कार वितरण र पुस्तक विमोचनको कार्यक्रम पनि रहेको छ । मनोरमा जफा लिखित ९ वटा कृतिहरुको नेपाली संस्करण बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गर्न लागेको छ । जुन २०७४ चैत महिनामा प्रकाशित हुने प्रतिष्ठानले जनाएको छ ।
जफा साना मानिसका लागि किताबको अन्तर्राष्ट्रिय बोर्ड आईबीबीवाईको भारतीय राष्ट्रिय शाखाको वरिष्ठ सचिव पनि हुनुहुन्छ । उहाँले आईबीबीवाईको २६ औँ कंग्रेसको अध्यक्षता गर्नुभएको थियो । जुन सन् १९८९ मा भएको थियो । उहाँ युनेस्कोको एसियाली सांस्कृतिक केन्द्रमा बालसाहित्यिक किताब विशेषज्ञका रूपमा पनि आबद्ध भइसक्नुभएको छ । उहाँले आईआईवाई–असही अध्ययन विस्तार पुरस्कार (२०००–२००१) को निर्णायक मण्डलमा अध्यक्षता गर्नुभएको थियो । साथै उहाँ सहनशीलतासम्बन्धी किताबका लागि युनेस्को पुरस्कार (१९९९–२०००) मा पनि सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
आदरणीय बालसाहित्य लेखक मनोरमा जफाले सुपरिचित कार्टुनिस्ट शंकरका साथमा बालबालिकाका लागि लेखक तथा चित्रकार संघ (एडब्ल्यूआइसी) स्थापना गर्नुभएको छ । हाल उहाँ त्यस संस्थाको वरिष्ठ सचिव पदमा कार्यरत हुनुहुन्छ । त्यस संस्थाले प्रकाशन गर्ने बालसाहित्यको एक मात्र पेशागत चौमासिक जर्नलको उहाँ प्रधान सम्पादक हुनुहुन्छ । उहाँ राष्ट्रिय पुस्तक गुठी, नयाँ दिल्लीमा सम्पादकीय परामर्शदाताको रुपमा पनि आबद्ध रहनुभएको छ ।
पुरस्कार तथा सम्मान
मनोरमा जफालाई विभिन्न संस्थाहरूले सम्मान गरेका छन् । आइबीसीले, सन् १९९९ मा उहाँलाई २० औं शताब्दीको २००० अध्ययनशील व्यक्तिहरूको सूचीमा अग्रपंक्तिमा राखेको छ । नामी टापु अन्तर्राष्ट्रिय बालपुस्तक महोत्सवले उहाँलाई भारतीय बालसाहित्यको खजाना” भनी सन् २००० मा इङ्गित गरेको थियो । भारत सरकारले उहाँलाई सन् २०१४ मा बालसाहित्यको विकासमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो ।
Leave a Comment